काठमाडौं, १८ असोज । सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
गठबन्धनको हिजो बसेको बैठकमा पनि सिट बाँडफाँडमा सहमति नजुटेपछि आज बिहानैदेखि दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका हुन् ।
आन्तरिक छलफलपछि आज बिहान ११ बजे गठबन्धनको बैठक बस्ने तयारी छ । सरकारमा रहेका राजनीतिक दलहरूले सिट बाँडफाँडका बारेमा कार्यदल र शीर्ष तहमा छलफल गर्न लागेको २ महिना पुग्नै लाग्दा पनि सहमति जुट्न सकेको छैन ।
लगातारको छलफलबाट सहमति नजुटेपछि आआफ्नो पार्टीमा छलफल गरी आज फेरि शीर्ष तहको बैठक बस्ने भएको हो ।
सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको यही असोज २० गते दुई महिना पुग्नेछ ।
राष्ट्रिय जनमोर्चाका नेता नेता दूर्गा पौडेलका अनुसार चुनावी तालमेल गर्नुपर्नेमा सबै दल सहमत छन् तर कसले कति सिट पाउने भन्ने बारेमा आआफ्ना तर्क र अडान कायमै छन् ।