काठमाडौं, असोज १७
सोमबार बिहान भारतीय समय अनुसार ९ बजेर २० मिनेटमा भारतीय एयर स्पेस प्रवेश गरेको इरानी कम्पनी महान एयरको जहाज डब्लू ५८१ मा बम रहेको खबर स्वयम् पाइलटले नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई दिए ।
लगत्तै, इन्दिरा गान्धी विमानस्थलमा सतर्कता मात्र अपनाइएन, भारतीय सुरक्षा एजेन्सीहरुले समेत सकर्तता लिए । तर, जहाजलाई नयाँ दिल्ली विमानस्थलमा भने अवतरणको अनुमति दिइएन ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको यो जहाजले नयाँ दिल्लीमै अवतरणको अनुमति मागेको थियो । ‘सुरक्षालाई मध्यनजर गर्दै भारतीय वायुसेनाले नयाँ दिल्लीमा अवतरणको अनुमति दिन इन्कार गरेको हो’ समाचारहरुमा भनिएको छ ।
यो जहाजलाई जोधपुर एयरवेशमा रहेको भारतीय वायुसेवाको जहाजले पच्छ्याएको थियो । ‘फ्लाइट राडार २४’ को तथ्यांक अनुसार जहाज नयाँ दिल्लीमा अवतरण गर्ने उद्देश्यले निर्धारित उचाई भन्दा तल आइरहेको थियो ।