
काठमाडौं, १४ असोज
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या साढे ३ गुणाले बढेको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ हजार ९५० जना महिला वैदेशिक रोजगारीमा गएका थिए भने चालू आर्थिक वर्षको सो अवधीमा १० हजार ८०१ जनाले बढेर १३ हजार ७६१ जना महिला वैदेशिक रोजगारीमा गएका छन् ।
यो सङ्ख्या गत आर्थिक वर्षको बार्षिक तथ्याङ्क भन्दा पनि बढि हो । गत आर्थिक वर्ष जम्मा ११ हजार ४ सय छट जना महिला वैदेशिक रोजगारीका लागि गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै ६ हजार २४२ जना महिला रोजगारीका लागि विदेश गएका छन् भने भदौ महिनामा ७ हजार ५१९ जना महिला रोजागारीका लागि विदेशिएका छन् ।
जसमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढि महिलाहरू दबई, कुवेत, कतार र मलेसिया गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।
उहाँका अनुसार वैदेशिक रोजगारीका लागि ३ हजार ७५५ जना महिला दुबई गएका छन् भने २ हजार ५६७ जना कुवेत गएका छन् ।
यस्तै १ हजार ७६४ जना महिला मलेसिया गएका छन् भने १ हजार ८ जना महिला कतार गएका विभागले जनाएको छ ।