सुनसरीमा मात्रै १५ हजारभन्दा बढी डेंगु संक्रिमत, १२ जनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

धरान, ५ भदौ । सुनसरीमा डेंगुबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विरामीको संख्या १५ हजार नाघेको छ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार डेंगुबाट मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष छन्। मृतक सबै जना धरान उप-महानगरपालिका रहेका छन्।

स्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख रजकुमार मेहताका अनुसार सुनसरी जिल्लामा डेंगुका विरामीको संख्या १५ हजार ४२५ जना पुगेको छ भने २७ हजार २३४ जनाले डेंगुको परीक्षण गराएका छन्।

कार्यालय प्रमुख मेहताका अनुसार डेंगुबाट धरान उप-महानगरपालिकामा नै १२ जनाको मृत्यु भएको छ। गत साउन १ गतेदेखि हालसम्म धरानमा मात्रै १३ हजार ६२७ जना डेंगुका विरामी रहेका छन् भने अहिलेसम्म १८ हजार ९२६ जनाले डेंगुको परीक्षण गरेका छन्।

इटहरी उपमहानगरमा डेंगुका विरामीको संख्या ८९१ रहेको छ भने डेंगुको परीक्षण २ हजार ८३७ जनाले गरेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

वराहक्षेत्र नगरपालिकामा ६४७ जना डेंगुका विरामी रहेका छन् भने ४ हजार ५३६ जनाले परीक्षण गराएका छन्।

इनरुवा नगरपालिकामा डेंगुका ७२ जना विरामी रहेको स्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख राजकुमार मेहताले जानकारी दिए। ५४७ जनले डेंगुको परीक्षण गराएको उनले बताए।

दुहबी नगरपालिकामा १०३ जना विरामी रहेका छन् भने १९५ जनाले डेंगुको परीक्षण गराएका छन्। रामधुनी नगरपालिकामा साउन १ गतेयता ५५ जना डेंगुका विरामी छन्। रामधुनीमा १५१ जनाले डेंगुको परीक्षण गराएको जनस्वास्थ्य अधिकृत दीपा श्रेष्ठले बताइन्।

सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा गत साउनयता ५ जना मात्र डेंगुका विरामी रहेका छन्। हरिनगरमा ७१ जनाले डेंगुको परीक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। देवानगंज गाउँपालिकामा ९ जना विरामी रहेका छन् भने १४ जनाले डेंगुको परीक्षण गराएका छन्।

बर्जु गाउँपालिकामा ९ जना मात्रै डेंगुका विरामी रहेका छन् भने ३२ जनाले परीक्षण गराएका छन्। कोशी गाउँपालिकामा १ जना मात्रै डेंगुका विरामी छन् भने ६ जनाले परीक्षण गराएका छन्।

भोक्राहा नरसिंह गाउँपालिकामा डेंगुका ५ जना विरामी छन् भने ८ जनाले परीक्षण गराएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

गढी गाउँपालिकामा साउनयता डेंगुको एकजना पनि विरामी नदेखिएको जनस्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख मेहताले जानकारी दिए।

डेंगु रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले डेंगुको लार्भा खोज र नष्ट गर अभियान र डेंगु परीक्षणबाट किट उपलब्ध गराउँदै आएको समेत उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्