उदयपुर, ८ असोज,नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् ।
समानुपातिकमा आफ्नो दावी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तीमार्फत माग गरेका छन् ।
तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दावी गर्दै आएका छन् ।
उनले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दावी नरहेको प्रष्ट पारेका छन् । बन्दसूचीमा नाम समावेश गर्नु अघि आफुलाई एकपटक पनि नसोधिएको उनकाे भनाइ छ ।
‘कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।’ उनले भने ।