नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ ।
बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ । अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो ।
यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् ।
गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशले १÷१ गोलको बराबरी खेलेका थिए ।
मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।