काठमाडौं, असार १८ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउन प्रयत्न भइरहेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा लोकसेवा परिक्षा उतिर्ण भइ स्थायी नियुक्ति पाएका स्टाफ नर्सहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य उपचारको हकलाई कार्यान्वयन गर्दै पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउन प्रयत्न भइरहेको बताउनुभएको हो । अहिले बिभिन्न अस्पतालमा १० प्रतिशत निशुल्क उपचार गर्ने प्रणाली लागू भइसकेको भन्दै सरकारको निर्देशन पालना नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिनुभयो ।
मन्त्री बस्नेतले देश र जनताका लागि सेवा गर्ने स्टाफ नर्सलाई सरकारले आवश्यक सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाँले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने पनि बताउनुभयो । त्यस्तै मन्त्री बस्नेतले आफ्नो घरपायक पर्ने स्थानमा सेवा गर्ने मौका स्टाफ नर्सहरुलाइ दिइने बताउनुभयो ।











