जवरजस्ती करणीपछि युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

लमजुङ- लमजुङमा २८ वर्षीया युवतीलाई करणी गरी हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको सुन्दरवजार–१, साविक कुन्छाकी २८ वर्षिया लिला अच्छामीलाई जवरजस्ती करणी गरी हत्या गर्ने सोही ठाउँका २४ वर्षीय राम सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक युवती गत १० गते मंगलबार साँझदेखि हराई बेपत्ता भएपछि उनका बुबा डम्वरबहादुरले खोजिपाउँ भनी प्रहरीमा उजुरी दिएका थिए । खोजतलासको क्रममा बिहिबार दिउसो सुन्दरवजार–१, कुन्छास्थित खड्केपानी सामुदायिक बनमा उनको शव फेला परेको हो ।

घटना अनुसन्धानको क्रममा मृतक अच्छामी र सुनार विचको प्रेम सम्वन्धबारे रहस्य बाहिरिएपछि प्रहरीले मंगलबारनै उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार युवक र युवती विच शारिरिक सम्वन्ध भएको र युवतीले विवाहको लागि प्रस्ताव गरेपछि हत्या गरेको युवकले स्वीकार गरेका छन ।

शारिरिक सम्वन्ध भइसकेपछि युवतीले आँफुलाई विवाह गर्न दवाव दिएको र विवाह नगरे सम्वन्धको बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि युवकले उनको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।

अभियुक्त सुनार आँफु पहिल्यै विवाहित भएको र प्रेमिका युवती शारिरिक अपांगसमेत भएकोले दोश्रो विवाह गर्न नसक्ने भन्दै विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीको हत्यापछि सुनारले उनको मोवाइल र गरगहना समेत आफ्नो घरमा लगेको प्रहरीले जनाएको छ । उक्त गरगहना समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले युवतीको शव जिल्ला अस्पतालमा ल्याई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाएको छ । अभियुक्त सुनारलाई शुक्रबार जिल्ला अदातबाट म्याद थप अनुमति लिई निज उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्