काठमाडौं, भदौ ३१
प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो ।
संसदीय दलको अन्तिम बैठकमा आज अध्यक्ष ओलीले प्रतिनिधिसभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँगाउँ जान पनि निर्देशन दिनुभयो । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रतिनिधिसभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले सुनाउनुभएको थियो । चुच्चे नक्सा सर्वसम्मत पारित गरिनु ऐतिहासिक काम भएको, संसद्ले सरकारलाई अघिल्लो कार्यकालमा राम्रोसँग सघाएको अध्यक्ष ओलीको भनाइ रहेको थियो ।
प्रतिनिधिसभाको कार्यकाल भोली राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन दिएको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।