सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्छ : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताउनुभएको छ ।

बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायधिशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताउनुभएको हो । अहिलेको गठबन्धनसंग लाजशरम भन्ने नै नरहेको संसदमा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उहाको भनाइ छ ।

ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भएपनि सफल हुन नसकेको बताउनुभयो । उहाले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवस नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको जिकिर गर्नुभयो । उहाले गठबन्धनको सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गर्न नसक्ने र गठबन्धन अस्थायी भएको धारणा राख्नुभयो ।

ओलीले जनताको मत जितेर एमाले अहिलेको अवस्थामा आएको भन्दै सरकारलाई खवरदारी गरिरहने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले अहिलेको सरकार आउनेबितिकै बिभिन्न निकायमा अनावश्यक भर्ना, नियुक्ति गरेर तमाशा देखाएको जिकिर गर्नुभयो । उहाले यसअघिको समाभुखले एउटा पक्षको प्यादाको रुपमा काम गरेको र पदीय मर्यादालाई माटोमा मिलाउने काम गरेको आरोप लगाउनुभयो ।

उहाले सिंगो कर्मचारीतन्त्रको इञ्जिनको रुपमा काम गर्न संगठनलाई सुझाव दिनुभयो । कर्मचारीतन्त्रमा सेवाभावको कर्तत्व पुरा गर्नका लागि अघि बढ्न उहाले आग्रह गर्नुभयो । ओलीले सेवा दिने कर्मचारीले कसैमाथि आस्थाका आधारमा भेदभाव गर्न नहुने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्