काठमाडौं, चैत्र १२ नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको भन्दै संसदमा प्रश्न गर्नु भएको छ ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कुँवरले उक्त क्षेत्रको जनगणना नगरेर गलत सन्देश प्रवाह भएको टिप्पणी गर्नु भयो । उहाँले २०१८ सालमै जनगणना भएको क्षेत्रमा अहिले आएर जनगणना नगर्नुको अर्थ के हो भन्दै प्रश्न गर्नु भयो ।
बैठकमा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताउनुभयो । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै प्रतिनिधिसभाको विशेष समयमा पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताउनुभयो । उहाँले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको भन्दै कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था रहेको सांसद पन्तले बताउनुभयो ।












