दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएक छन् ।

नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर १ की मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहोराको ज्यान गएको हो ।

नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण ज्यान गएको चन्दले जानकारी दिनुभयो । बाढीमा परि अझै तीन जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

यस्तै तीन जना गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको छ । दार्चुलामा शुक्रवार रातिदेखिको लगातारको वर्षापछि आएको बाढी, पहिरोका कारण १२ वटा घर बगाएको छ ।

जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । बाढीले दर्जनौँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ । त्यस्तै महाकाली नगरपालिका ३ मा रोकेर राखेका सात वटा गाडीसमेत लास्को खोलाले बगाएको छ ।

लगातारको वर्षाले दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि नदीले अझै कटान गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।  उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्