काठमाडौं, माघ १९ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताउनुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताउनुएको हो । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल बिहिबार कोलम्बो जाँने पनि उहाँले बताउनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई सबैलाई एकमुष्ठ रूपमा दिइने बताउनुभयो । उहाँले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरूलाई पासपोर्टको समस्या परेकाले उनीहरूको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताउनुभयो । उहाँले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको जानकारी दिनुभयो ।
श्रीलंका भ्रमणका क्रममा मन्त्री पौड्यालले शुक्रबार आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




