मापदण्ड विपरीत बनेका अनधिकृत पर्खाल हटाउन काठमाण्डौ महानगरको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ ।

महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ ।

कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ ।

सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ । काठमाण्डौ महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।

मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई पनि महानगरले ९० दिनभित्र नक्सा पेस गरी नियमित गर्न सम्बद्ध व्यक्ति, संस्था, संस्थान र सरकारी निकायलाई समेत अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्