सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ ।
सञ्चार मन्त्रालयले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता तथा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मन्त्री कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको हो । उहाँले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताउनुभयो । उहाँले जनताको अपेक्षा अनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै मन्त्री कार्कीले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरु मध्येमा नेपाललाई पनि पुर्याउने आफूहरुको दायित्व रहेको भन्दै अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपालसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्ने भएकाले त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।













