२ असोज, गोरखा। हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनशन सुरु भएको छ। उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका हुन्।
जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरू सचेत गराएका छन्। वीरेन्द्रताल (सामागाउँ), कालताल (प्रोक), हरियो ताल (पुगेन) लगायतका जोखिमयुक्त हिमतालहरूको मापन गरी भविष्यमा हुनसक्ने विष्फोटको जोखिम अध्ययन गर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन्।
‘विश्वव्यापी तापक्रम वृद्धि भई हिमनदीहरूलाई तीव्र रुपले पगाल्ने र यसको असर ताल तथा नदीहरूमा अझै देखिन थाले,’ लामाले भने, ‘ विपदको पूर्व तयारी र न्यूनीकरणका उपायबारे जनतालाई जानकारी गराउन आवश्यक छ।’
नेपालको मानव वस्तीनजिकै रहेको चीनतर्फको हिमतालहरूको दुवै देशका संयन्त्रले संयुक्त अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।
मनास्लु क्षेत्र र चुम उपत्यकामा रहेको हिमतालहरूको हवाई अनुगमन गर्न समेत उनीहरूले माग गरेका छन्। विश्वव्यापी वातावरणीय प्रभाव फैलाउने विकसित राष्ट्रहरूबाट नेपालले पाउनुपर्नै क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न सरकारलाई उनले आग्रह समेत गरेका छन्।
प्रत्येक हिमाली क्षेत्रका सामुदायिक विद्यालयहरुको पाठ्यक्रममा जलवायु परिवर्तनको असरसम्बन्धी विषय समावेश गर्न समेत उनीहरूको माग राखेका छन्। माग पूरा नभएसम्म अनशन नतोड्ने उनीहरूको अडान छ।










