काठमाडौं । नेकपाकी राष्ट्रिय सभा सांसद रेणु चन्दले महिलालाई सडकमा बच्चा जन्माउन बाध्य पारिएको घटनालाई लिएर आक्रोशित अभिव्यक्ति दिएकी छन् । राष्ट्रिय सभाको वैठकमा आज बोल्दै उनी सरकारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भइन् ।
राज्यलाई जनसङ्ख्या चाहिएको र त्यसका लागि आमाहरुलाई जोखिममा पार्ने काम गरिएको सांसद चन्दले टिप्पणी गरिन् । यो विषयमा सरकारले जवाफ दिनु पर्ने उनको माग छ ।
चन्दको भनाइ जस्ताको तस्तैः
गरिमा चौधरीको रेप भयो र हत्या भयो । गृह मन्त्रालयमा गृहमन्त्री लगायत आधा दर्जन मन्त्रीहरूको घेराबन्दीमा गरिमाका आमाबुवालाई बोलाएर सम्झौता गराइयो र भन्न लगाइयो कि हामी खुसी छौँ ।
महिलालाई, आमालाई सडकमा बच्चा जन्माउन बाध्य पारिएको छ । राज्यलाई जनसङ्ख्या चाहिएको छ, बच्चाहरू चाहिएका छन्, तर जननीलाई जोखिममा पार्ने काम गरिएको छ ।
हामी महिला हौँ, जनावर हैनौँ, बाटोमा बच्चा जन्माउँदै हिँड्नलाई । ज्यान जोखिममा पारेर बच्चा जन्माउने काम हामीले गरिरहेका छौँ । तर राज्यले आमालाई, देशको आधा जनसङ्ख्या भएको महिलालाई हेपेको छ, यो असह्य छ। यो विषयमा सरकारले जवाफ दिनुपर्छ ।
पछिल्ला केही समयमा महिला हिंसाका घटना भयावह तरिकाले बढेको छ । ५० प्रतिशत केन्द्रीय समिति सदस्य भएको पोलिटिकल पार्टी देशको नम्बर वन पोलिटिकल पार्टी भएर सरकारमा बसेको छ, त्यसबाट हाम्रा केही अपेक्षाहरू छन् । लगभग ३३ प्रतिशत महिलाहरू सरकारमा मन्त्री भएर बसेका छन्, त्यसबाट हाम्रा केही अपेक्षाहरू छन् । तर ती अपेक्षाहरूमा पानी फेर्ने काम सरकारले गरिरहेको छ ।
गृहमन्त्रीले माइती भएको दावा गर्नुहुन्छ, यस्ता माइती हुनुभन्दा त बिनामाइतीकै ठिक छौँ हामी । हामी सरकारसँग कुरा सोध्न जाँदाखेरि गाली पाउँछौँ । सरकारसँग न्याय खोज्न जाँदाखेरि अनलाइनमा यति धेरै घृणाका साथ गाली गरिन्छ कि त देख्न सकिने, सुन्न सकिने छैन । हामीलाई अनलाइन हिंसा भएको छ, व्यावहारिक रूपमा हिंसा भएको छ । यी सबै हिंसा रोक्नका लागि सरकारले के काम गरिरहेको छ भन्ने जवाफ गृह मन्त्रालयले सदनमा आएर देओस् भनेर म माग गर्न चाहन्छु ।
र म सरकारलाई सोध्न चाहन्छु– अस्ति गरिमाको आमालाई सोध्नुभो, बुवालाई सोध्नुभो तपाईँ खुसी हुनुहुन्छ ? आज म सरकारलाई सोध्छु– बलात्कारी छुट्दाखेरि, एउटा आमाले सडकमा बच्चा जन्माउँदाखेरि, सरकार तपाईँ खुसी हुनुहुन्छ ? जवाफ दिनुस् सरकार, तपाईँ खुसी हुनुहुन्छ ?










