काठमाडौं– रसुवा बाढीमा परी बेपत्ताहरूको शव भारतीय क्षेत्रमा समेत फेला पर्न थालेका छन्
उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।
‘नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी)को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेको थियो।
टोलीले मोटरबोटको सहायताले शवहरू नदीबाट बाहिर निकाली महाराजगन्ज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ। अहिलेसम्म शवको पहिचान हुन सकेको छैन।
निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीलाई बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद गरिएको बताए। उनका अनुसार तीमध्ये तीन महिला र एक पुरुष छन्।
उनले भने, ‘यी शव माथिल्लो तटीय क्षेत्र अर्थात् नेपालबाट बगेर आएको हुनसक्ने धेरै सम्भावना छ।’
गुप्ताका अनुसार अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। ‘हामी लगातार नेपाल प्रशासनसँग सम्पर्कमा छौँ। नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीले निरन्तर निगरानी गरिरहेका छन्,’ उनले भने।
एसएसबी, महाराजगन्ज र कुशीनगर जिल्ला प्रशासनले मृतकको पहिचान तथा उनीहरूका परिवारको खोजीका लागि नेपालका सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गरिरहेका छन्।
कुशीनगरका अपर प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बीबीसी हिन्दीलाई कुशीनगरमा तीन शव बरामद भएको बताए। उनका अनुसार तीमध्ये दुई महिला र एक पुरुष छन्।
‘तीनवटै शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ। पहिचान गर्ने प्रक्रिया भइरहेको छ,’ उनले भने।










