क्यानडाको डढेलोको धुवाँले विश्वकप फाइनलमाथि चिन्ता, के भन्छ फिफा ?

खबर बुक
  • ख-
  • ख+

क्यानडामा फैलिएको भीषण डढेलोबाट उठेको धुवाँ अमेरिकातर्फ फैलिँदा न्यु जर्सीमा हुने फिफा विश्वकप २०२६ को फाइनलको वातावरणलाई लिएर चिन्ता बढेको छ।

आइतबार खुला रंगशालामा हुने अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्तअघि वायु प्रदूषणको स्तर बढेपछि स्वास्थ्यसम्बन्धी चेतावनी जारी गरिएको छ।

यद्यपि, फिफाले शुक्रबार जारी गरेको पछिल्लो जानकारीअनुसार हालको वायु गुणस्तरले विश्वकप फाइनल सञ्चालनमा कुनै खतरा नरहेको जनाएको छ।

यसअघि प्रतियोगिता आयोजकहरूले आफूहरू परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका थिए।

ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले भने, ‘यस विषयमा छलफल भइरहेको छ। राष्ट्रिय मौसम सेवा (एनडब्लुएस)का प्रतिनिधि फिफा मुख्यालयमै रहेर परिस्थितिको निरन्तर निगरानी गरिरहेका छन्।’

दक्षिणतर्फ बहेको हावाका कारण क्यानडाको डढेलोबाट निस्किएको धुवाँ अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको छ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा शुक्रबार वायु गुणस्तर ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको थियो, जहाँ स्वास्थ्य अधिकारीहरूले सबैलाई अत्यावश्यक बाहेक बाहिरी गतिविधि नगर्न आग्रह गरेका छन्।

विश्वकप फाइनल हुने न्यूयोर्क–न्यु जर्सी क्षेत्रमा वायु गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थ मानिने स्तरमा रहेको छ। बिहीबार धुवाँ यति बाक्लो थियो कि म्यानहटनको आकाशरेखा समेत स्पष्ट देखिन कठिन भएको थियो।

उता डेट्रोइट र शिकागोमा भने वायु गुणस्तर सूचकांक ‘खतरनाक’ स्तरमा पुगेको छ। वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार ती दुवै शहर शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित शहर बनेका थिए।

राष्ट्रिय मौसम सेवाले शनिबार बिहानसम्म धुवाँ अझ बाक्लिन सक्ने चेतावनी दिएको छ।

राष्ट्रिय मौसम सेवाका मौसमविद् पिटर मुलिनाक्सले ग्रेट लेक्स क्षेत्रबाट आउने हावाले थप धुवाँ उत्तरपूर्वी अमेरिकातर्फ ल्याउन सक्ने बताए पनि फाइनलसम्म अवस्था केही सुधार हुने अनुमान व्यक्त गरेका छन्।

उनले भने, ‘यदि खेल आज हुने भएको भए असर बढी पर्थ्यो। तर आइतबारसम्म त्यति ठूलो प्रभाव पर्ने जस्तो देखिँदैन।’

यसअघि पनि विश्वकपका केही खेल मौसमका कारण प्रभावित भएका थिए।

मेक्सिको र इक्वेडरबीचको अन्तिम ३२ को खेल भीषण आँधीका कारण एक घण्टा ढिलो सुरु गरिएको थियो।

त्यसपछि मेक्सिको र इंग्ल्यान्डबीचको नकआउट खेल पनि प्रतिकूल मौसमका कारण स्थगित हुने हल्ला चलेको थियो। तर आयोजकहरूले निर्धारित समयमै खेल हुने पुष्टि गरेका थिए।

यसअघि जुलाई महिनाको अत्यधिक गर्मीका कारण पनि विश्वकपका केही खेलमा खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको थियो। अमेरिका र क्यानडाका धेरै क्षेत्रमा ४३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थियो।

विश्वकप फाइनल हेर्न करिब ८० हजार दर्शक रंगशालामा उपस्थित हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्