बागमतीमा तत्काल सभामुख चयन गर्न शिक्षा समितिको निर्देशन

खबर बुक
  • ख-
  • ख+

२८,वैशाख । बागमती प्रदेशसभाको सभामुखको निर्वाचन तत्काल सम्पन्न गर्न निर्देशन गरिएको छ । प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले लामो समयदेखि रिक्त रहेको सभामुख पदको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन सरकार र राजनीतिक दलहरूलाई भनेको हो ।

वैशाख २५ गते बसेको समितिको बैठकले सभामुखको रिक्तता संसदीय गरिमासँग जोडिएका विषय भएकाले शिघ्र नियुक्ति प्रक्रिया अघि बढाउन सरकार र उपसभामुख अप्सरा चापागाईंसहित राजनीतिक दलहरूको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैठकले असोज १ गतेदेखि रिक्त रहेको सभामुख पदको विषयलाई समितिले गम्भीरताका साथ उठाउँदै लामो समयसम्म नेतृत्व रिक्त हुनु केवल प्रक्रियागत विषय मात्र नभई संसदीय गरिमा, लोकतान्त्रिक उत्तरदायित्व र संस्थागत प्रतिष्ठा माथिको प्रहार भएको जनाएको छ । समितिका सचिव एवम् प्रदेशसभाका प्रवक्ता प्रकाश चापागाईका अनुसार संसदको गरिमा जोडिएको सभामुख नियुक्ति प्रक्रियाले संसदीय प्रक्रिया र लोकतन्त्र माथि नै प्रश्न उठाएको समितिको ठहर छ ।

संसद् जनभावनाको केन्द्र भएकाले समितिले नेतृत्व अभावमा शासन प्रणालीमै अन्योल र सन्देह उत्पन्न भएको समितिको बैठकले निष्कर्ष निकालेको छ । राजनीतिक दलहरूबिच संवाद र सहमति कायम गरी यथाशीघ्र सभामुखको निर्वाचन सम्पन्न गर्न बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, उपसभामुख चापागाई तथा सबै संसदीय दलका नेताहरूको ध्यानाकर्षण गराउने समितिले निर्णय गरेको प्रवक्ता चापागाईंले बताए ।

बैठकले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न र कृषि उत्पादनमा देखिएका अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिले कृषि उत्पादन र खाद्य सुरक्षाको आधारस्तम्भ मानिएको कृषि क्षेत्रमा हाल देखिएको गुणस्तरीय बीउबिजन तथा रासायनिक मलको अभावप्रति चासो व्यक्त गर्दै वितरण प्रणालीमा रहेको अव्यवस्था, कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको प्रभावका कारण वास्तविक किसानहरू मर्कामा परेको ठहर छ ।

बैठकले बाली लगाउने मुख्य समयमा मल र बीउको सहज पहुँच सुनिश्चित गर्न, दुर्गम क्षेत्रलाई प्राथमिकता दिन र वितरण प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएको छ । उक्त विषयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले के–कस्ता प्रयास गरिरहेको छ र आगामी दिनमा थप के प्रयास गरिनेछन् भन्नेबारे जानकारी समितिलाई गराउन समेत बैठकले निर्देशन दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्