सहमहामन्त्री विपिन आचार्यको समितिले विधान संशोधन प्रक्रिया अगाडि बढायो

खबर बुक
  • ख-
  • ख+

२८,वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ–असोजमा प्रथम महाधिवेशन गर्ने तयारी अगाडि बढेसँगै विधान संशोधन प्रक्रिया अगाडि बढाएको छ । सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठन भएको समितिले विधान संशोधन प्रक्रिया अगाडि बढाएको छ ।

वैशाख २० गते बसेको पार्टीको सचिवालय बैठकले आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएको थियो । सोमबारदेखि नै विधान संशोधनको काम सुरु हुने उनले जानकारी दिए ।

‘महाधिवेशनको मिति घोषणा र तयारीका लागि केन्द्रीय समितिको बैठक बुधवार बस्दैछ । त्यस बैठकले महाधिवेशन कार्यविधि अनुमोदन गर्छ । सँगै विधान संशोधनको प्रक्रिया पनि अगाडि बढ्छ । कम्तीमा महाधिवेशन हुँदैन कि भन्ने आशङ्का हल भएको छ’, रातोपाटीसँग आचार्यले भने ।

आइतबार साँझ बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बोलाउनुको साथै भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो ।

जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला गर्ने, जेठ ३ गते वैशाख २० गते अगावै समिति गठन भएका वडाहरूमा अधिवेशन गर्ने, जेठ ९ गते पालिका भेला, जेठ १० गते वैशाख २५ अगावै समिति गठन भएका पालिकामा अधिवेशन गर्ने कार्यतालिका छ । जेठ ३ अगाडि गठन भएका बाँकी वडाको अधिवेशन जेठ १६ गते र जेठ १० गते अगाडि गठन भएका बाँकी पालिकामा जेठ १७ गते अधिवेशन गर्ने तालिका छ ।

यस्तै जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका बैठकले अनुमोदन गरेको छ । यता महामन्त्री कवीन्द्र बुर्लाकोटीले सचिवालय बैठकले अनुमोदन गरेको महाधिवेशन कार्यतालिका केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र सार्वजनिक हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्