ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

खबर बुक
  • ख-
  • ख+

२६,वैशाख काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्ताराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गरेका हुन्। उनले अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गरे।

राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको शुरुवात गरेको स्मरण गरे। तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताए।

ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै राष्ट्रपतिले उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताए। पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उनले चिन्ता व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, ‘मनमोहनजी उदार वामपन्थी नेता हुनुहुन्थ्यो, जसले प्रजातन्त्र स्थापनाका लागि काँग्रेस र कम्युनिस्टबीचको सहकार्यमा जोड दिनुभयो। वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ। उनीहरूका असल अभ्यासलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न र शारीरिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन सरकारले ठोस नीति र कार्ययोजना बनाउन आवश्यक छ।’

नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा यो अन्ताराष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासबाट सिक्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे। सम्मेलनले अन्तर–पुस्ता ज्ञान हस्तान्तरण र ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि एक सेतुको काम गर्ने भन्दै राष्ट्रपतिले कार्यक्रमको पूर्ण सफलताको कामना गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्