१५ वैशाख, काठमाडौं । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापना गरिएको सरला–कुमार अक्षय कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ईसीडीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०८३ का लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्। उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई वितरण गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
द्वन्द्वकालमा विसं २०५४ मा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँ सोही विद्यालयका पूर्वविद्यार्थी हुन्। उनीहरूको सम्झनामा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहलमा विद्यालय परिसरमै सालिक निर्माण गरिएको छ।
कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।














