१२ वैशाख काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ।
घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ। दुबै टोलीले यसअघि दुई खेलको टी–२० आई सिरिज खेलेका थिए। जसमा सिरिज १–१ को बराबरीमा टुंगिएको थियो।
नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन्। दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ। शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।
जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई पछि पार्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ।
२१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबिया तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न नेपाललाई लगातार खेल जित्नुको विकल्प छैन।
अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन्। नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।
नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यूएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोग्दा अर्को खेल भने स्थगित भएको थियो।
लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ। नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ। स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए।
ओमान २४ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ। यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ।
यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ। उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ।
नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ। सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ। नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो।
गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने पराजय भोगेको थियो। सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए।
तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ। स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ। तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ।
यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ। नामिबिया पाँचौँ स्थानमा छ। क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ।











