नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

खबर बुक
  • ख-
  • ख+

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल थिए ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

त्यस्तै समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराइसकेका छन् । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।

आज दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३:१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३:२० बजे दाबी विरोध दिन सकिने, ३:२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३:३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४:३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४:४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो । मतदान स्थल कांग्रेस संसदीय दलको कार्यालय, मतगणना मतदान सम्पन्न भएपछि सुरु गर्ने तालिका तालिका थियो ।नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्