
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले माओवादी केन्द्रसँग एकता आवश्यक भए पनि अहिले हतारो गर्न नहुने बताउनुभएको छ ।
रेडियो काडमाडूको कार्यक्रम राईट कर्नरमा कुराकानी गर्दै सचिव झाक्रीले एकताका लागि गहन छलफल गर्न आवश्यक रहेको बताउनुभएको हो । २०७४ को निर्वाचनपछि बनेको नेकपा एकता र विगठनलाई स्मरण गराउँदै उहाँले त्यसका सवलता र दुर्वलतालाई केलाएर मात्रै एकता गर्नुपर्ने धारण राख्नुभएको हो । आफू पार्टी एकताको पक्षमा रहेको भन्दै उहाँले तत्काल एकताको प्रयास थालनि नै नभएको स्पष्ट पार्नुभयो ।
पूर्वमन्त्रीसम्म रहनुभएकी सचिव झाक्रीले गुल्मी–२ मा जनमत आफ्नो पक्षमा भए पनि मौन अवधिमा पैसाको चलखेल भएकाले चुनावमा पराजित भएको आरोप लगाउनुभयो । नेकपा एकीकृत समाजवादीलाई समानुपातीकमा कम मत आएकोमा पार्टी नेतृत्वको भूमिका मुख्य भएको उहाँको भनाई छ । पार्टीमा रहेका महिला तथा लक्षित वर्गका नेतालाई उम्मेदावर बनाउनु नसक्नु र समानुपातिकमा भोट आइहाल्छ भनेर मत नमाग्नुले समानुपातिकमा अनपेक्षीत नतिजा आएको बताउनुभयो ।