काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन् ।
उनले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गरे । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपक्षी बिचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताइन् ।
पशुपक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरणीय प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । यस्तै, एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठुलो सङ्कट निम्त्याएको भन्दै उनले यसको समाधानका लागि सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताइन् ।
सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।











