काठमाण्डौँ, १९ फागुन । टी–२० विश्वकप क्रिकेटमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (झन्डै १८ हजार) अमेरिकी डलर जरिवाना गरेको छ ।
पीसीबीले यो जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको जनाएको छ । विशेषगरी समूह चरणमा भारतसँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै जरिवानाको निर्णय गरेको थियो ।
त्यतिबेला सेमिफाइनल पुगे जरिवाना फिर्ता हुन सक्ने सङ्केतसमेत दिइएको थियो ।
प्रतियोगिताभर टोलीभित्र कुनै अनुशासनसम्बन्धी समस्या नभए पनि प्रदर्शनकै आधारमा सामूहिक रूपमा जरिवाना लगाइनु दुर्लभ र सम्भवतः अभूतपूर्व कदम मानिएको छ । यसअघि पनि पीसीबीले ठूला प्रतियोगितापछि कडा निर्णय लिँदै आएको छ ।











