तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

खबर बुक
  • ख-
  • ख+

रामेछाप । मन्थली नगरपालिका ६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ। यससँगै मृतकको संख्या १४ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो। दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणतर्फ फेला परेको शवको सनाखत परिवारले गरेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि मन्थली अस्पतालमा राखिएको छ।

यसअघि सोमबार मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव तल्लो खुर्कोट किनारमा फेला परेको थियो। दुवै जनाको मृत्यु डुबेर भएको प्रारम्भिक अनुमान गरिएको छ।

गत माघ २७ गते नेपाल अरनिको यातायात सेवा प्रालिको बस सडकबाट भिरमा खसेर तामाकोशी नदीमा दुर्घटनाग्रस्त भएको थियो। बस काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको थियो। दुर्घटनाकै दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए।

दुर्घटनामा परेका ८ वर्षीय बालक रोनिस तामाङ अझै बेपत्ता रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नदी आसपास क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्