काठमाडौँ । आउँदो फागन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।
अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न सूर्यवाहक उम्मेदवारहरू उठाउने तयारी गरेको छ।












