कांग्रेसको नियमित महाधिवेशन आउँदो वैशाखमा गर्ने प्रस्ताव पारित ,महामन्त्रीद्वयको असहमति

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन आयोजना गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले बहुमत सदस्यको समर्थनमा वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो।

उहाँका अनुसार यसअघि पुसमा प्रस्ताव गरिएको १५औँ महाधिवेशन विभिन्न कारणले हुन नसकेपछि कार्यतालिका परिमार्जन गरी पुनः पारित गरिएको हो।
“पुसमा प्रस्ताव गरिएको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा संशोधित कार्यतालिकासहित वैशाख २८, २९, ३० र ३१ गते महाधिवेशन गर्ने निर्णय गरिएको हो,” महतले भन्नुभयो।

यद्यपि, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूले बैठकको निर्णयमा असहमति जनाएका छन्। उनीहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने धारणा राख्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आउँदो जेठ मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ। यसअघि गत मङ्सिर १५ गते बसेको बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्