नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा सम्पन्न भएको छ।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका ११० उम्मेदवार चयनका लागि मापदण्ड तय गरी नाम छनोट प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ। साथै, बैठकले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
वर्तमान राजनीतिक परिस्थिति तथा आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीभित्र बृहत् एकता कायम गर्न बैठकले अनुशासनसम्बन्धी निर्णयहरू गरेको छ।
विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, असहयोग गरेका वा अनुशासन उल्लंघन गरेका कारण निष्कासन, निलम्बन तथा स्वतः कारबाहीमा परेका नेताकार्यकर्ताको बाँकी कारबाही अवधि माफी ९मिनाहा० गर्ने निर्णय गरिएको छ।
कारबाही माफी पाएका नेताकार्यकर्ताको क्रियाशील सदस्यता निरन्तरता दिई नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र वा अन्य दलमा संलग्न भएका नेताकार्यकर्तालाई पुनः नेपाली कांग्रेसमा फर्कन हार्दिक आह्वान गरेको छ। पार्टीमा फर्किनेहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरिएको छ।
नेपाली कांग्रेसले लोकतान्त्रिक विचार र आस्थामा विश्वास राख्ने बौद्धिक, व्यवसायिक तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र देशको हितका लागि बौद्धिक तथा व्यवसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको छ।
अर्को केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुस १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।











