काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। नेपाली कांग्रेसका ६५ जना तथा अन्य दलका तीन जना सांसदसहित कुल ६८ सांसदले उक्त पूरक रिट दायर गरेका हुन्।
मङ्गलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता गरिएको हो। पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस प्रदान गरेका थिए।
यसअघि नेपाली कांग्रेसका ८ जना सांसदले मङ्सिर २३ गते प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका थिए। त्यसपछि थप ६० सांसदले पनि सर्वोच्च अदालत पुगेर सोही मागसहित पूरक रिटमा हस्ताक्षर गरेका हुन्।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा नेपाली कांग्रेससँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक जना स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ।











