नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ ।
निर्वाचन कानुन एवं व्यवस्थापनका बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताउनुभएको हो । उहाले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेका सुनाउनुभयो । पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उहाको भनाइ छ । उहाले सरकारले लोकतान्त्रीक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाउनुभयो । त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले फागुन २१ गतेभन्दा कुनै तलमाथि नगर्न सरकारलाई सुझाव दिदै उचित वातावरण बनाउन सुझाव दिनुभयो । निर्वाचन भनेर मात्रै नहुने भन्दै उहाले जनताले विश्वास गर्नेगरि सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गर्नुभयो । उहाले सवै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
त्यस्तै अन्य दलका नेताहरुले वर्तमान सरकारको म्याण्डेड चूनाव भएकाले चूनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए ।











