बुटवल | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन्। उच्च अदालत बुटवलको आदेशअनुसार बैंक जमानतमा रिहा हुन शुक्रबार उनी रुपन्देही पुगेका थिए। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनलाई रिहा गरिएको हो।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन्। सोही आधारमा उनलाई थुनामुक्त गरिएको अर्यालले जानकारी दिए।
यसअघि बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले साउन २६ गते दिएको थुनामा राख्ने आदेश बदर गरेको थियो। अदालतले बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालतको आदेशपछि लामिछाने शुक्रबार रुपन्देही पुगेका हुन् र कागजी प्रक्रिया पूरा गरेपछि उनी कारागारबाट मुक्त भएका हुन्।











