काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी भएको छ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासले हिजो थुनामुक्त गर्न आदेश दिए पनि, प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा स्वयं उपस्थित हुनुपर्ने भएकाले आज मात्र रिहा गर्न लागिएको हो।
उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रूपन्देही जिल्ला अदालतको साउन २६ गतेको आदेश बदर गर्दै बिगो बराबरको बैंक ग्यारेन्टी लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।
उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया सुरु हुनेछ।
अदालतले आदेशअनुसार बिगोको ग्यारेन्टी पेश गर्नुपर्ने र भविष्यमा अदालतको अन्तिम फैसलाबाट थप दायित्व सिर्जना भएमा तिर्न–बुझाउन मञ्जुर भएको कागज गराउनुपर्ने सर्त राखेको छ।
रवि लामिछाने स्वयं उपस्थित भएर उक्त कागज गरेपछि तारेखमा छाडिनेछ।
अदालतका अनुसार यसअघि बुझाइएको १ करोड रुपैयाँ धरौटीलाई उच्च अदालतले स्वीकार गरेको छ। साथै थप २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पनि मान्य गरिएको छ।
विदेश यात्रा गर्नुपरेमा पूर्वजानकारी अदालतलाई दिनुपर्ने सर्त समेत आदेशमा उल्लेख छ।
गत चैतमा उच्च अदालतकै आदेशअनुसार पक्राउ परेका लामिछानेलाई सुरुमा भैरहवा कारागारमा राखिएको थियो। पछि उनलाई ललितपुरस्थित नख्खु कारागार सारिएको थियो।
धरौटीमा थुनामुक्त हुने भए पनि रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू विभिन्न अदालतमा अझै विचाराधीन छन्।











