काठमाडौं, कार्तिक २९ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा(एमाले)ले शनिबार देशैभर प्रदर्शन गरेको छ ।
संसद बिघटनबिरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत शनिबार देशभरका जिल्ला तथा बिभिन्न शहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो । यसैक्रममा नेकपा एमाले रुपन्देहीले बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको थियो ।
प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षा तथा युवा पुस्ता–विशेषगरी जेनजी–का माग पूरा गर्ने क्षमतामा आफ्नो पार्टी सक्षम रहेको दाबी गरिएको प्रदर्शनसहितको र्याली चौराहाबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको आरोप लगाउनुभयो ।
जनपरिचालनको मंसिर ६ गते काठमाडौंमा प्रदर्शनसहित जनसभा गरेर समापन गरिने एमालेले जनाएको छ ।













