काठमाडौं, कार्तिक २३ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको सेयर बजार आज पनि घटेको हो।
आइतबार नेप्से परिसूचक ३० अंक घटेको हो। योसँगै आज २५६६ विन्दुमा झरेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ। आज झण्डै पाँच अर्ब बराबारको सेयर किनबेच भएको हो। आज २२२ कम्पनीको मूल्य घट्दा २८ कम्पनीको मूल्यमा वृद्धि हुँदा एक कम्पनीको मूल्य स्थिर भएको छ।
सेयर बजारमा भारी गिरावट आए पनि दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसमध्ये सागर डिष्टिलरीको शेयर आजदेखि कारोबारमा आएको हो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।












