फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको हो ।

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उहाले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राख्नुभयो

त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमलाई व्यवसायिक रुपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयबस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह, लोगो सार्वजनिक गरिएको थियो भने नयाँ च्यानल एन टिभी वल्र्डको शुभारम्भ गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्