काठमाडौं। जेनजी आन्दोलनको क्रममा तोडफोड र आगलागीको घटनापछि पाँचतारे होटल हायात अनिश्चितकालका लागी बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन्। होटल व्यवस्थापनले सूचना जारी गर्दै अर्को निर्णय नहुँदा सम्म कर्मचारी प्रवेशलाई निषेध गरिएको सूचना जारी गरेपछि प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनालले चासो व्यक्त गरेका हुन्।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन्। कुराकानीको क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरे।
खनालले भने, ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’
यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ। हायात होटल, जसले लामो समयदेखि नेपालको आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ, फेरि पनि सेवा सुचारु गर्ने अपेक्षा सरकार र सर्वसाधारण दुवै पक्षको रहेको छ।











