धनुषा । मिथिलाको सबैभन्दा ठूलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यो पर्वका लागि जनकपुरधामका प्रमुख गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरर्वा पोखरीलगायतका घाटहरूमा अहिले अन्तिम तयारी र सजावटको रौनक छ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि घाटको सरसफाइ, बत्ती सजावट र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ।
“गङ्गासागरको आधा भागमा सजावटको काम अन्तिम चरणमा छ, यो वर्ष विगतभन्दा अझ राम्रो व्यवस्था गरिएको छ,” उनले बताए।
उनका अनुसार यस वर्ष प्रति अघ्र्य शुल्क रु ६०० तोकिएको छ। “सबै श्रद्धालुहरूले दिनुपर्ने बाध्यता छैन। जसले अघ्र्य राख्छन्, तीमध्यमार्फत आएको रकम घाटको सरसफाइ र व्यवस्थापनमा प्रयोग हुन्छ,” उनले स्पष्ट पारे।
त्यस्तै, अरगजासर छठ समितिका सचिव वीरेन्द्र कर्णले पनि दशैं सकिएलगत्तै छठको तयारी सुरु गरिएको बताए। उनका अनुसार यस पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका व्यक्तिहरू पनि सक्रिय रूपमा सहभागी हुने परम्परा रहिआएको छ।
“हामीले कुनै दबाब दिँदैनौं, श्रद्धालुहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्छन्,” कर्णले बताए।
गङ्गासागरमा अहिले पण्डाल र बत्तीको काम अन्तिम चरणमा पुगेको छ। त्यहाँ तीनवटा समितिहरूले संयुक्त रूपमा सजावट र व्यवस्थापनको जिम्मा लिएका छन्। सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गरिएको जनाइएको छ।
छठका अवसरमा जनकपुरधामका बजारहरूमा पनि भीड बढेको छ। बाँस र माटोबाट बनेका घैँटो, हात्ती, टोकरी, नाङ्लो, कन्सुपती, कलशलगायतका सामग्री किन्न मानिसहरूको भीड देखिएको छ। यी सामग्रीहरू शुद्ध र पवित्र मानिने भएकाले यसको माग उच्च रहेको व्यापारीहरूले बताएका छन्।











