काठमाडौँ । यमपञ्चक अर्थात् तिहार पर्वअन्तर्गत आज गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वलाई हली तिहार पनि भनिन्छ, जसमा कृषक समुदाय, पशुधन, र कृषि संस्कृति प्रति श्रद्धा व्यक्त गरिन्छ।
आजको दिन गाईलाई गौमाता मानी विधिपूर्वक पूजा गरिन्छ। वैदिक सनातन परम्पराअनुसार गाई पूज्य र पवित्र जीव मानिन्छ, जसले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने धार्मिक र वैज्ञानिक मान्यता रहेको छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गहुँत र गोबरका माध्यमबाट शक्ति प्रदान गर्ने विश्वास रहेको छ। आधुनिक विज्ञानले पनि गाईका यी तत्वहरू उपयोगी भएको पुष्टि गरिसकेको छ।
आजको दिन गोरु, किसान र हलोको पनि पूजा गरिन्छ। वर्षभर खेत जोतेर मेहनत गर्ने गोरुलाई मिठा परिकार खुवाइ श्रद्धा प्रकट गरिन्छ। साथै, कृषिमा संलग्न हलोयात्रा गर्ने हली र अन्य किसानहरूको पनि सम्मानस्वरूप पूजा गरिन्छ।
गोवर्द्धन पूजाअन्तर्गत आज घरको आँगन लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाई पूजा गर्ने परम्परा छ। यो परम्परा कृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीको रक्षा गरेको पौराणिक कथासँग सम्बन्धित छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथिको घटबढका कारण यो वर्ष तिहार सामान्यतया पाँच दिनमा सकिने भए पनि छ दिनसम्म लम्बिएको छ। कात्तिक १ गते शनिवारदेखि सुरु भएको तिहार अन्तर्गत भोलि भाइटीका मनाइनेछ।
समितिका अनुसार भाइटीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। तर, दिनभर नै टीका लगाउन सकिने समितिका सदस्य प्राध्यापक डा। देवमणि भट्टराईले जानकारी दिएका छन्।











