काठमाडौं, कार्तिक ४ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो ।
विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दशै र तिहारकाबीचमा पनि सवै खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गर्नुभयो । तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरुले राम्रो तयारी गरेको उहाको भनाइ छ । त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उहाले बताउनुभयो । उहाले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफुले काम गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताउनुभयो । यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टीम मैदानमा उत्रने उहाको भनाइ छ ।
नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।











