नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ८ बजेबाट पुनः सुरू हुने भएको छ। ललितपुरको जावलाखेलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल भइरहेको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। बुधबार पहिलो दिन ५० जनाले मन्तव्य दिएका थिए।
शुक्रबारको बैठकमा उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीहरूले धारणा राख्ने छन्। त्यसपछि अध्यक्ष ओलीले आएका सुझाव र प्रश्नहरूको जवाफ दिने र बैठक समापन गर्ने कार्यक्रम छ।
ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी मंसिर २७–२९ गते पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव पनि समेटिएको छ।













