काठमाण्डौं, १२ असोज । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गत बर्ष पहिरोका कारण ज्यान गुमाएका एन्फा सिस्नेरी फुटबल एकेडमीका ६ खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
आइतबार बार्षिक पुण्यतिथिमा एन्फा कम्प्लेक्समा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । सभामा निधन भएका खेलाडीहरु सम्मिलित फोटोमा पुष्पाञ्जली अर्पण गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष पङ्कजविक्रम नेम्बाङले ज्यान गुमाउने खेलाडीहरुको स्मृतिमा मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
एन्फाले निर्णय गरेको कुरामा आफुहरु प्रतिवद्ध रहेका उहाले बताउनुभयो । उहाले खेलाडीहरुको सपना साकार पार्ने इमान्दार प्रयासमा रहेको जिकिर गर्नुभयो ।
२०८१ असोज १२ गते आएको भिषण बाढी र पहिरोका कारण मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडीले ज्यान गुमाएका थिए ।
अविरल वर्षाका कारण कुलेखानी ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा पुरिएर यी खेलाडीको निधन भएको थियो ।












