निजामती विधेयक छिटै पारित भई कार्यान्वयनमा आउँछः उपप्रधानमन्त्री सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ भाद्र । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने बताउनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा सिंहले प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रुपमा अपेक्षा गरिएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

आमकर्मचारीको माग र भावनालाई समावेश गरी राजनीतिक दलहरुको सहमतिबाट संसद्ले निजामती विधेयक पारित हुने उहाको भनाइ छ ।

सिंहले विकास, समृद्धि र सुशासनको मार्गमा अग्रसर हुन र व्यावसायिक तथा सिर्जनशील प्रशासनमा लाग्न राष्ट्रसेवक निजामती कर्मचारी प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने निजामती सेवाको मुख्य जिम्मेवारी भएको उहाको भनाइ छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आइतबार निजामती सेवा दिवस मनाइएको हो ।

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्