आज चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, बागमतीका तीन जिल्लामा सार्वजनिक विदा

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ भाद्र । चेपाङ समुदायले आज न्वागी अर्थात् (छोनाम) पर्व मनाउँदै छ। चेपाङ समुदायले रेक वर्ष भदौको २२ गते न्वांगी पर्व राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा हसामूहिक मनाउदै आएका छन् ।

यस पर्व महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक भेला भएर विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउँछन् । यो वर्ष चितवनको इच्छाकामना गाउँपालिका(६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वागी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।

अध्यक्ष चेपाङका अनुसार चेपाङ बाहुल्य रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागीलाई उत्सवका रूपमा मनाउने गरिएको छ। उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाइन्छ।

न्वांगीमा चेपाङ झाँक्रीले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यो दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ छ। यसैबीच बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन वटा जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्