लिपुलेककोबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने -ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २० । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेककोबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सीमा समस्याको समाधानका लागि भारतसंग वार्ता गर्ने बताउनुभयो । लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको उहाले जानकारी दिनुभयो । आफूले राष्ट्रियताप्रति कुरा उठाउँदा केही ‘जान्नेसुन्नेहरुले’ गलत व्याख्या गरेको समेत उहाँले बताउनुभयो । उहाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया पटक नगरेको समेत स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको दावी गर्नुभयो । एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताकाबीच पुगी अझ विश्वास जित्न सके ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो ।

उहाले कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको दावी पनि गर्नुभयो । त्यस्तै ठूला दुई पार्टीको सहकार्यले माओवादीलाई म्याजिक नम्बर रहेको भ्रमबाट मुक्त गरिएको उहाको भनाइ छ । अध्यक्ष ओलीले विधान महाधिवेशनमा विधानमा मात्रै छलफल केन्द्रित हुने बताउनुभयो । पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएको उल्लेख गर्दै उहाले ती बिषयहरु विधान महाधिवेशनसँग सम्बन्धित नरहेको धारणा राख्नुभयो ।

उहाँले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताउनुभयो । त्यस्तै अध्यक्ष ओलीले विधान महाविधेशनमा राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्