माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १९ । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरुपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्दै जाने उहाले बताउनुभयो ।

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उहाले जानकारी दिनुभयो । उहाले अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गर्नुभयो । प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको देखिएको बताउनुभयो ।

बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको र त्यस बिषयमा पछि निर्णय हुने उहाले उल्लेख गर्नुभयो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्