पूर्वराष्ट्रपति भण्डारीको सदस्यतामाथि फरक मत महाधिवेशनमा उठाउन नमिल्ने : महासचिव पोखरेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत उठाउन नपाइने स्पष्ट पारेका छन्।

बुधवार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले विधान महाधिवेशनमा केवल विधान, संगठन र नीति सम्बन्धी विषयमै छलफल हुने उल्लेख गर्दै अन्य विषयमा फरक मत राख्न नदिने व्यवस्था रहेको बताए।

उनको भनाइ अनुसार, पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी मतभेद पार्टी कमिटीको निर्णयसँग जोडिएको विषय भएकोले त्यसबारे छलफल विधान महाधिवेशनको कार्यक्षेत्रबाहिर पर्छ।

यद्यपि, पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले उक्त विषयमा फरक मत राख्ने घोषणा गरिसकेका छन्। महासचिव पोखरेलले भने यस्तो असहमति राष्ट्रिय महाधिवेशनको मञ्चमा मात्र उठाउन मिल्ने बताए।

एमालेले भदौ २०–२२ गते ललितपुरको गोदावरीमा दोस्रो राष्ट्रिय विधान महाधिवेशन आयोजना गर्न लागेको छ। अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमाथि छलफल हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्